• काठमाडौँ, १३ भदौ – इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ।मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ।

    आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ।मङ्गलबारको खेल सकिँदासम्म नेपालको दुई हजार ७९८ अङ्क छ। पहिलो स्थानमा रहेको जापानको तीन हजार २९८ अङ्क तथा दुई हजार १९२ अङ्कसहित दक्षिण कोरिया तेस्रो स्थानमा छ।

    नेपालले विगतमा एशियाली खेलकूदमा कराते, बक्सिङ र तेक्वान्दोमा पदक जित्दै आएपनि यसपालि पदकविहीन हुनु परेको छ। नेपालले प्याराग्लाइडिङबाट पदकको आश जगाएको छ। प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले नेपालले स्वर्ण पदकका लागि प्रयास गर्ने बताए। चौथो चरणसम्म आइपुग्दा नेपालभन्दा अगाडि जापान मात्र छ।

    सोही स्पर्धाको महिलातर्फ नेपाल छैटौँ स्थानमा छ। नेपालको २१६ अङ्क छ। उक्त स्पर्धामा दक्षिण कोरिया पहिलो, जापान दोस्रो र आयोजक इण्डोनेसिया तेस्रो स्थानमा छन्।