• सिन्धुली, १३ भदौ – कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी सहाले जानकारी दिए।

    दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकामा अहिले सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएको छ। मृतक बोगटी र घाइते गणेश थापा घर बनाउने डकर्मी हुन्।

    आज घर बनाउने काम नभएपछि उनीहरु डाँडीगुराँसे आउने क्रममा तीव्र गतिमा रहेको डोजर सडकबाट करीव २५ फिट तल खसेको थियो। दुर्घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।