• काठमाडौं ११ भदौ- शनिबार साँझ ६ बजेतिरको कुरा हो । नेपालटारस्थित एक खाजाघरकी साहुनी आलसतालसमा थिइन् । पसलकी कामदार केटी मिलिक्क हराएपछि उनी अत्तालिइन् ।

    उनले सुरुमा त पसलकै छेउकुनामा खोजिन् । नपाएपछि बाहिरफेर चाहर्न थालिन । एकै छिनमा उनले किशोरीलाई ट्वाइलेटभित्र देखिन् । ट्वाइलेटमा किशोरी एक्लै थिइनन्, उनको साथका एक युवक पनि थिए ।

    ट्वाइलेटबाट बाहिर निकालेर सोधपुछ गरेपछि किशोरीले आफूलाई युवकले जर्बजस्ती बलात्कार गरेको बताइन् । लगत्तै स्थानीयले महानगरिय प्रहरी वृत्त बालाजुमा फोन गरे । पसलमा नियमित खाजा खान आउने बाजुरा स्थायी घर भई नेपालटार बस्ने १८ वर्षीय साजन बोहोरालाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

    बालाजु बृत्तका डिएसपी चिरञ्जिवी कोइरालाका अनुसार किशोरीले आफूलाई युवकले इच्छाविपरित जर्बजस्ती ट्वाइलेट लगेर बलात्कार गरेको बयान दिएकी छिन् । प्रहरीका अनुसार किशोरी नाबालिग भएका कारण खाजा पसलकी साहुनीले साजन विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।

    डिएसपी कोइरालाका अनुसार नियमित खाजा खान आउने क्रममा साजनको किशोरीसित चिनजान भएको थियो । सामान्य चिनजानकै आधारमा उनले किशोरीमाथी बलात्कार गरेको घटनाक्रमले देखाउँछ । प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतबाट थप अनुसन्धानका लागि बोहोरालाई हिरासतमा राख्न ५ दिनको म्याद लिएको छ ।