• गौर, १० भदौ – डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ। तीनजना अझै वेपत्ता छन्।गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको थियो। इशानाथ नगरपालिका– ३ रुनाकुर्मी पटेल र गौर नगरपालिका– ४ की शान्तिदेवी साहको शव फेला परेको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए। दुर्घटनामा परेकामध्ये २१ जनाको उद्धार गरिएको छ।

    डुङ्गा डुबेपछि ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पटेल र उष्मा पटेल बेपत्ता रहेको प्रहरीले जनाएको छ। ओमप्रकाश डुङ्गाका सहचालक हुन्। इशानाथ नगरपालिकाको औरहियाबाट गौरतर्फ आउँदै गरेको डुङ्गा बकैया नदीमा पल्टेको थियो। पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएपछि ढुङ्गा दुर्घटना भएको हो। बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, भारतीय सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी गरिरहेका छन्।