• सिरहा,१० भदौ –सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरायणीस्थित कमला नदीमा डुबेर सिरहाका तीन युवा बेपत्ता भएका छन्।

    प्रहरीका अनुसार जनै पुर्णिमा तथा रक्षा बन्धनको दिन शिवालयमा उत्तरायणीस्थित कमला नदीको जल चढाउन बोलबम गएका सिरहा गोलबजार नगरपालिका–४ निपानेका १४ वर्षीय मन्जे महरा, १५ वर्षीय राहुल महरा र औरही गाउँपालिका–३ तुल्सीपुरका १९ वर्षीय कृष्ण कुमार महतो शनिबारदेखि बेपत्ता भएका हुन।

    अर्नामा गाउँपालिका–५ कृष्णपुरका २१ वर्षीय सुमनकुमार मण्डललाई जीवित्तै उद्धार गरिएको छ। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। सिरहा, धनुषा र उदयपुरको संगमस्थल उत्तरायणी कमला खोलामा जल भरेर शिवालयमा चढाउन जनै पूर्णिमाका दिन भक्तजनहरु हरेक वर्ष अघिल्लो दिन नै पुग्छन्।

    बेपत्ता तीनै जना कमला खोलामा शनिबार स्नान गर्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए।