• काठमाडौँ, ८ भदौ – इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूद अन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ।समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन्। नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ। जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीश प्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि आजको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताउँछन्।

    एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन्। नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो। नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो। भलिबल राष्ट्रिय खेलसमेत हो।

    नेपाल टोलीमा क्याप्टेन इम बहादुर मगर, हरि बहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धन बहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मान बहादुर श्रेष्ठ, कुल बहादुर थापा, दीपकराज जोशी, भैरव बहादुर बम र विशाल बहादुर विक रहेका छन्। प्रशिक्षकमा जगदीश प्रसाद भट्ट, लेस्ली दि जोञ्जे व्यलनभ र व्यवस्थापकमा भरत बहादुर शाह रहेको छ।