• काठमाडौं,८ भदौ-एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार)दोस्रो अभ्यास खेल खेल्दैछ।

    मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेल खेल्न लागेको हो। पहिलो अभ्यास खेलमा जित निकालेको नेपालले आज ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन्।

    एकदिवसीय फर्म्याटमा हुने नेपाल र ब्लुमफिल्डबीचको खेल नेपाली समय अनुसार १० बजेर १५ मिनेटमा सुरु हुनेछ। नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो।

    नेपालले खेल्न लागेको ब्लुमफिल्ड क्लब कोलम्बोमा रहेको श्रीलंकाको पुरानो क्रिकेट क्लब हो। सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ। श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो।

    यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ। युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन्।

    ब्लुमफिल्डपछि नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा आइतबार खेल्ने छ। तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।

    एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन्। छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ। नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ।

    यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ। नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ। नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ। त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ।

    राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन्। छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।

    एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ।