• काठमाडौं,८ भदौ-महेन्द्रनगरमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको छ । अवस्था सामान्य बन्दै गएपछि शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो।निर्मला पन्त हत्या प्रकरणबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासनले कर्फ्यू लगाएको थियो।

    प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बिहीबार ४ जना आन्दोलनकारी घाइते भएका थिए।बिहीबार मात्रै कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेवारी लिएर जिल्ला पुगेका एसपी कुबेर कडायतले अवस्था नियन्त्रणमा आएपछि बिहीबारदेखि जारी गरिएको कर्फ्यू अहिले बिहान ५ बजेबाट हटाएको जानकारी दिए । ‘महेन्द्रनगर आज बिहानैदेखि शान्त छ, यहाँ कुनै पनि प्रदर्शन छैन’, एसपी कडायतले भने।

    एसपी कडायतका अनुसार, सडकमा सवारी साधन गुडिरहेका छन् भने पसल अघिल्ला दिनको तुलनामा खुलेका छन्।
    सरकारले छानबिन समिति गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख बदलेपछि आन्दोलनकारी वार्तामा आउने अपेक्षा गरिएको छ । यद्यपि, आन्दोलनरत पक्ष र सरकारबीच वार्ता भने हुन सकिरहेको छैन । एसपी कडायतले पीडित परिवार र आन्दोलनकारीसँग सम्पर्क गरेर आफूले वार्ताको पहल थालेको जानकारी दिए।