• काठमाडौँ, ८ भदौ – प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ। सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो।

    सदनको आजको बैठकमा सभामुख कृष्ण बहादुर महराले प्रस्तावलाई प्रस्तुत गरे। सङ्कल्प प्रस्तावमा नेपालको संविधानबमोजिम नेपाल पक्ष राष्ट्र भएको महिलामाथि हुने सबै प्रकारका विभेद्विरुद्धको महासन्धिलगायत अन्तर्राष्ट्रिय अभिसन्धिहरुले शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक एवं अन्य कुनै पनि प्रकारको महिला हिंसा अन्त्य गर्न माग गरिएको छ।

    दाइजोको निहुँमा हुने कुटपिट, अन्धविश्वास, शोषणविरुद्ध जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस् भन्ने प्रस्तावमा उल्लेख छ।

    सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल, मैना कुमारी भण्डारी, पार्वती कुमारी विशङ्खे, बिना कुमारी श्रेष्ठ, लक्षमी कुमारी चौधरी, नवराज रावत, तुल्सी थापा, अमृता थापालगायत २२ सांसदले उक्त प्रस्ताव दर्ता गराएको हो।