• काठमाडौं,७ भदौ-बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

    भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा पनि बालिकाका हत्यारालाई कारबाही माग गर्दै थालिएको प्रदर्शन झन् चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो ।

    बिहीबार दिउँसो भीमदत्त नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय नजिकै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागेर कम्तिमा पनि आठजना प्रदर्शनकारी घाइते भएका थिए। घाइतेहरुममध्ये भीमदत्त नगरापालिका–१८ बस्ने १७ वर्षीय अर्जुन भण्डारीको अवस्था चिन्ताजनक छ । उनको दायाँ खुट्टामा लागेको छ।

    भण्डारीको प्राथमिक उपचार स्थानीय अस्पतालमा भए पनि अवस्था चिन्ताजन भएपछि सुविधायुक्त अस्पतालका लागि रेफर गरिएको छ । प्रहरीले हानेको गोली लागेर ४२ वर्षीय तेज भट्ट, २० वर्षीय तीर्थ पनेरु, मनोज बुढा, सरोज खड्का र कैलालीको हसुलिया बस्ने सन्तोष कडारिया घाइते भएका थिए । उनीहरु सबैलाई प्रहरीले हानेको गोली लागेका छ।