• काठमाडौँ, ६ भदौ– इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाड अन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन्।हिट १ मा उनी सातौँ स्थानमा रहिन्। उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२.३२ सेकेण्डले पछि परिन्।

    यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् । अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन्। आजै भएको १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका शुभम् श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए। उनी आफ्नो हिटमा आठ खेलाडीमध्ये तेस्रो भएका थिए।

    एक मिनेट ११.३७ सेकेण्डमा निर्धारित दूरी पार गरेका उनी समग्रमा २७ औँ स्थानमा रहे। यो स्पर्धामा ३२ खेलाडीले भाग लिएका थिए।अब पौडीमा शिरिष गुरुङले १०० मिटर फ्रिस्टायलमा बिहीबार प्रतिस्पर्धा गर्नेछन्। यस्तै टिशा शाक्यले ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ।