• काठमाडौं,६ भदौ-उपत्यकाका सडकमा देखिएका खाल्डा खुल्डी पुर्न सरकारलाई अहिले भ्याइ नभ्याई छ। काठमाडौंमा अर्को हप्तादेखि शुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागि हुने राष्ट्र प्रमुखलाई देखाउनकै लागि भएपछि सरकार खाल्डा खुल्डी पुर्न भ्याइ नभ्याई भएको हो।

    अन्य दिनमा रातीको समय पुरिने सडकका खाल्डा खुल्डी बिमिस्टेक सम्मेलन नजिकिँदै गर्दा मंगलवार देखि दिउँसो पुरिन थालेको थियो। दिउँसो खाल्डा खुल्डी पुरिन थाल्दा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यवस्त बनेको छ। काठमाडौको केशर महल अगाडी सडकमा रहेको खल्डा खुल्डी मंगलवार दिउँसो पुर्दाट्राफिक व्यवस्थापन अस्तव्यस्तका कारण यात्रुहरुले सास्ती भोग्नु परेको थियो।

    त्यही जामका कारण काठमाडौंदेखि सुर्खेत जानका लागि टिकट काटेका सर्वसाधारणले टिकट फिर्ता माग्नु परेको थियो। एक घण्टामा घर पुग्ने यात्रुले ट्राफिक व्यवस्थापन अस्तव्यस्तले गर्दा ३ घण्टा लगाएर घर पुग्नु परेको थियो। केशमहल अगाडीको सडक मर्मतका कारण सवारी साधन भद्रकाली, पुतलीसडक, नक्सा हुँदै दवबार मार्गबाटकाृ सडक हुँदै गएका थिए।

    बिमस्टेकका पाहुना जाने रूटमा सडक निर्माण र स्तरोन्नतीको काम भइरहेका कारण मंगलबार साँझ काठमाडौंमा लगातार साढे चार घण्टा जाम भएको थियो। बिमस्टेकको शिखर सम्मेलनका लागि विदेशी पाहुनाहरु आउने दिन नजिकिँदा समेत सडकका खाल्डा पुर्ने काम नसकिएपछि मंगलबार दिउँसो खाल्डाखुल्डी पुर्न थालिएको हो।

    ट्राफिक प्रहरीलाई सडकमा काम गराउदै ट्राफिक व्यवस्थापन गर्न हम्मे–हम्मे परेको छ। ट्राफिक प्रहरीका अनुसार ट्राफिक आवागमन सहज हुन राति अबेरसम्म लाग्ने अवस्था छ। विशेष गरी चोकहरुमा बढी समस्या देखिएको छ। भित्री सडकहरुमा पनि जाम भएकाले उपत्यकाका सवारी आवागमन अस्तव्यस्त भएको ट्राफिक प्रहरीले बताएको छ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले दिनभर ट्राफिकका बिषयमा विभिन्न माध्यमबाट सूचना प्रवाह गरेपनि जाममा कमि नआएको बताए।भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख काठमाडौं आउने कार्यक्रम छ।