• काठमाडौँ,भदौ ६- आज बिहान महोत्तरीमा नमाज पढ्ने विषयमा भएको विवादले उग्र रूप लिँदा दुई समूहबीच झडप भएको छ।

    जिल्लाको लोहारपट्टि गाउँपालिका-३, महदैया चोकस्थित इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान ८ बजे झडप भएको हो।झडपमा १० जनाभन्दा बढी घाइते भएका छन्।

    प्रहरीका अनुसार नमाज वाचन गर्न दुई पक्षले आ-आफ्ना मौलानालार्इ अघि सारेपछि विवाद भएको थियो।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर एवं अश्रु ग्यास प्रहार गर्नुपरेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए। झडप स्थलमा उल्लेख्य सख्यामा प्रहरी परिचालन गरिएको र अहिले स्थिति शान्त भइसकेको उनले जानकारी दिए।

    झडपमा लाठ्ठीसमेत प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ। डिएपी खड्काले भने, ‘केही घाइतेको टाउकामा चोट लागेको छ। घाइतेहरूको अवस्था सामान्य छ।’ उनका अनुसार घाइतेहरूलाई उपचारका लागि आफन्तले जनकपुर लगेका छन्।

    बकर इदका बेला गत वर्षहरूमा पनि त्यहाँ झडप हुने गरेको बताइएको छ ।