• काठमाडौं,५ भदौ –इटालियन फुटबल क्लव युभेन्टस (हालै स्पेनिस क्लव रियाल मड्रिडबाट गएका) का क्रिस्टियानो रोनाल्डो स्पेनिश क्लव रियाल मड्रिडका लुका मोड्रिच र लिभरपुलका मोहम्मद सलाह युइएफए वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन्।

    युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सोमबार सार्वजनिक गरेको २०१७–१८ को सिजनको शीर्ष तीनको मनोनयनमा रियालका दुई खेलाडीले स्थान बनाउँदा लिभरपुलका सलाहले पनि अन्तिम तीनमा स्थान बनाएका हुन्।

    खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) ग्रुपका ५० जना खेल पत्रकारले गरेका हुन्

    जुरी सदस्यले पहिलो स्थानको लागि ५ अंक, दोस्रो स्थानको लागि ३ र तेस्रो स्थानको लागि १ अंक प्रदान गर्दै छनोट गरेका हुन्।

    बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी भने शीर्ष तीनमा पर्न सकेनन्। रियालले अघिल्लो सिजनको च्याम्पियन्स लिग जितेको थियो। रोनाल्डोले रियालबाट कीर्तिमानी पाँचपटक च्याम्पियन्स लिगको उपाधि तथा लगातार तीनपटक च्याम्पियन्स लिग जित्न सफल भएका थिए। उनी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पनि हुन्।

    गोल्डेन बल विजेता मोड्रिचकै कप्तानीमा क्रोएसिया विश्वकप फुटबलको उपविजेता बन्न सफल भएको थियो।

    यता, इजिप्टका सलाहले इंग्लिश प्रिमियर लिगको डेब्यु सिजनमै उच्च प्रदर्शन गर्दा ४४ गोल गर्न सफल भएका थिए।

    विजेता घोषणा च्याम्पियन्स लिगको समूह चरणको विभाजनको दिन अर्थात ३० अगस्टमा मोनाकोमा हुनेछ। सोही दिन नै महिला वर्ष खेलाडी र च्याम्पियन्स लिगका अन्य विधागत विजेताको घोषणा गरिनेछ।