• काठमाडौं,३१ साउन –इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ।

    विभाहा मुक्ति स्टेडियममा हुने दुई टिमबीचको खेल नेपाली समयअनुसार आज साँझ ६ः३० बजेपछि शुरु हुनेछ। ‘एशियाड’मा नेपाल र भियतनाम पहिलो पटक आमने-सामने हुन लागेका हुन्।

    सिनियर राष्ट्रिय टिममा भने नेपाल र भियतनाम दुई पटक भिडिसकेका छन् । दुई पटकको भिडन्तमा नेपाल भियतनामसँग पराजित भएको छ।

    सन् २००३ को सेप्टेम्बरमा भएको ‘एएफसी एसिया कप’ अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५–० ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो।

    पहिलो खेलमा एसियाली पावरहाउस जापानसँग १–० गोलले पराजित भएको नेपाल भियतनामविरुद्धको खेलमा जीत हात पार्ने रणनीतिका साथ मैदानमा उत्रदैछन्।

    त्यस्तै, भियतनामले आफ्नो समूहको पहिलो खेलमा पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो।नेपालविरुद्ध जित या बराबरी निकाले भियतनाम एक खेल अगावै ‘एशियाड’ फुटबलको दोस्रो चरणका पुग्नेछ।