• काठमाडौं,२२ साउन-अपहरणमा परेका काँडाधारीका ११ वर्षीय निशान खड्काका अपहरणकारी आफ्नै कोठाबाट पक्राउ परेको खुलासा भएको छ।खड्काको अपहरणमा संलग्न नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङ पाइलट बाबा जाने जंगलमा प्रहरीको मुठभेडमा मारिएका थिए। तर, अपहरणकारीलाई प्रहरीले भक्तपुरस्थित उनीहरुकै डेराबाट पक्राउ गरेको खुलासा भएको हो।

    घरबेटी श्याम लबटले उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन्। लबटले भनेका छन्, ‘पछि एकदम पिटे क्या उनीहरुले। अनि मैले लेडिजलाई सोधें– के हो म्याम? हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन्। धेरै पिट्यो क्या।’

    स्थानीयहरूले पनि अपहरणकारीलाई कोठाबाट पक्राउ गरेको दाबी गरेका छन्।