• काठमाडौं,२२ साउन-साउन २२ लाई “कालो दिन” भन्दै लिम्बूवान खुम्बूवानका केही संघ संगठनले आज पूर्वका ९ जिल्लामा बन्द आव्हान गरेका छन्।राज्य एकिकरणको अभियानमा लागेका पृथ्वीनारायण शाहले युद्धमा जित्न नसकेपछि, जालझेल र षडयन्त्रमुलक रुपमा, लिम्बुवान हडपेको दिनको सम्झानालाई कालो दिनका रुपमा लिएको हो।

    राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेको बन्दका कारण पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधन चलेका छैनन् भने शिक्षणसंस्था खुलेका छैनन् ।

    बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीलगायत सात पार्टीले पनि विज्ञप्ती मार्फत ऐक्यवद्धता जनाएका छन् ।

    पृथ्वीनारायण शाहले १८३१ साउन २२ मा लिम्बू सुब्बाहरूको नाममा एक लालमोहर जारी गरेपछि युद्धको औपचारिक अन्त्य भएको विश्वास गरिन्छ। साउन २२ गतेको सम्झौताले लिम्बूवान खुम्बूवानको स्वायत्तता हडपिएको दिन भन्दै उनीहरुले साउन २२ लाई “कालो दिन” भन्ने गरेका छन्।

    १९३१ साउन २२ पूर्व, सेन राजा र त्यसअघि पनि लिम्बूवानको अस्तित्व कायम रहेको तर पृथ्वीनाराणसँगको सम्झौतापछि सबै अधिकार हडपिएको उनीहरुको दाबी छ। तर पृथ्वीनारायण शाहले १८३१ साउनमा लिम्बू सुब्बालाई दिएको लालमोहरमा यसअघि सेन राजाले जुन अधिकार उनीहरूलाई दिएका थिए, त्यो अधिकार आफूले पनि दिने गरी सम्झौता भएको इतिहासकारहरुको दाबी छ।