• काठमाडौं,२२ साउन -केरुङ–काठमाडौं रेलमार्गको डेमो अवको केही दिनमै बेइजिङमा सार्वजनिक गरिने भएको छ। चिनीयाँ प्राविधिकहरुले पूर्व सम्भाव्यता अध्ययन गरिहेको केरुङ- काठमाडौं रेलमार्गको डेमो सार्वजनिक गरिने भएको हो।

    चिनीयाँ प्रविधिमा निर्माण हुन लागेको काठमाडौं–केरुङ रेलमार्गको डेमो आगामी भदौं पहिलो हप्ता बेइजिङमा सार्वजनिक गरिने बताइएको छ। रेल विभागका प्रवक्ता तथा इन्जिनियर प्रकाश उपाध्यायले पूर्व सम्भाव्यता अध्ययनको काम भईरहेको बताए।

    उनले यसरी चाँडो-चाँडो भएमा अव काम छिट्टै हुने समेत बताए। अगामी भदौंको ४ र ५ गते हामीलाई बेइजिङमा बोलाएको उनको भनाई छ। विभागका अनुसार चिनियाँ प्राविधिक टोलीले पूर्व सम्भाव्यता अध्ययनको रिपोर्टलाई अन्तिम रुप दिनुअघि नेपाली पक्षलाई डेमो देखाएर परामर्श गर्ने छ।

    नेपाली पक्षले डेमो हेरिसकेपछि नेपालबाट प्राप्त सल्लाह र सुझावका आधारमा रिपोर्टलाई अन्तिम रुप दिइने जनाइएको छ।चाइना रेल्वे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनको काम गरिहेको छ।

    सोही कम्पनीले रेलमार्गको डेमो सार्वजनिक गर्न लागेको हो। यद्यपि उक्त डेमो नेपालका भौतिक पूर्वाधार तथा रेल विभागका अधिकारीका माँझ मात्रै सार्वजनिक हुने भएको हो।

    आगामी भदौ १५ भित्र रिपोर्ट बनाउने लक्ष्यका साथ काम भईरहेको रेल विभागका अधिकारी बताउँछन्। पूर्व सम्भाव्यता अध्ययन पूरा भइसकेपछि सिधैं डिपिआर निर्माण गरी परियोजना निर्माण सुरु गर्ने यसअघि नै नेपाल–चीनबीच सहमति भइसकेको छ।

    रेल विभागका अनुसार पूर्व सम्भाव्यता अध्ययनले सकारात्मक परिणाम दिएमा लगानीको मोडलका बारेमा सम्झौता गरी एक वर्ष्भित्रैमा निर्माण सुरु गर्न दुवै देश तयार छन्।

    यी हुन् पूर्व सम्भाव्यता अध्ययनमा समेटिएका क्षेत्र
    चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा गरिसकेको छ। २०७५ जेठ ६ गते काठमाडौँबाट शुरु गरेको नेपाली सहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्मको अध्ययन पूरा गरेको थियो।

    अध्ययन टोलीले काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता अध्ययन गरेको थियो।

    अध्ययनमा केरुङबाट रसुवागढी–त्रिशूली–काठमाडौंसम्म रेल सञ्चालन सहज रहेको संकेत दिएको थियो। काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जाने र अर्को लुम्बिनी लैजाने रेलमार्गको विस्तार गर्न भने ‘केही कठिनाइ’ देखाएको थियो।

    अनुमानित लागत कति लाग्र्ला?
    सम्झौताको पाँच बर्षमा रेलमार्ग तयार पारिने रेल विभागले जनाएको छ।यो रेलमार्ग परियोजनाका लागि ३ खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।चीनले करिव ११ सय किलोमिटर लामो रेलमार्ग तिब्बतको राजधानी ल्हास्सा सम्म ल्याइसकेको छ।

    रेलमार्गलाई नेपालको सीमावर्ती क्षेत्र केरुङसम्म ल्याउनका लागि चीनले काम थालिसकेको छ। रेलमार्गलाई काठमाडौ ल्याएर पोखरा हुँदै लुम्विनीसम्म विस्तार गर्ने सरकारको योजना छ।केरुङ काठमाडौं रेलमार्ग करिव ७५ किमी लामो हुनेछ।

    रेलमार्ग निर्माण गर्दा ९० प्रतिशत सुरुङ र पुलमा निर्माण गर्नुपर्ने छ।बाँकी १० प्रतिशत भाग जमिनमा रहनेछ।यहि भागमा स्टेशन बनाउने विभागले जनाएको छ।

    के छन् समस्या ?
    नेपालमा रेलमार्गको अहिलेसम्म सिभिल इन्जिनियरिङ वर्क मात्र भइरहेको छ। रेलका लागि आवश्यक पर्ने जनशक्ति नेपालमा छैनन्।त्यस्तै सरकारले रेलका लागि बर्षेनी छुट्याउने बजेट न्यून छ।

    निर्माण कार्य ढिलो हुनुमा नीतिगत समस्या समेत रहेको छ। एउटा खण्डको डीपीआर निर्माणका लागि कन्सल्ट्याण्ट हायर गर्ने प्रक्रिया पुरा गर्न ७र८ महिना लाग्ने गरेको रेल विभागका अधिकारी बताउँछन्।

    रेलमार्ग बनाउनका लागि ८० प्रतिशत नदिजन्य गिटी,वालुवा जस्ता पदार्थको आवश्यकता पर्छ।बाँकी २० प्रतिशत माटो मिसाइन्छ। रेलले ठूलो परिमाणमा सामानहरु वोक्ने भएकाले लिक मजबुद हुन आवश्यक छ।नदिजन्य पदार्थको उत्खननका लागि स्थानीय,प्रदेश लगायतका निकायलाई एकद्धवार नीतिमा ल्याउनुपर्ने रेल विभागका अधिकारीहरुको भनाई छ।

    वनक्षेत्रको आयोजना निर्माण स्वीकृतिमा ढिलाई,जग्गा अधिग्रहण,रेखाङकन,सरकारी निकायका वीचमा समन्वयको अभाव लगायतका समस्या छन्