• काठमाडौं,२२ साउन –नेपाली यु- १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निमन्त्रण आएको छ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन्।

    चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली छ । युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो।

    भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन्। नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।

    यस्तै सिरिजलाई यू–१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।